को–को हुन पाउँछन् म्यादी प्रहरी ?

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, २२ : ०७
को–को हुन पाउँछन् म्यादी प्रहरी ?

काठमाडौँ । सरकारले आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी खटाउन स्वीकृति दिएको छ ।

नेपाल प्रहरीले एक लाख १८ हजार २३१ म्यादी प्रहरीका लागि प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले एक लाख जनाका लागि मात्र बजेट स्वीकृत गरेको हो । मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइने मापदण्डमा उल्लेख छ । ‘छनौट भएका व्यक्तिलाई निर्धारित पाठ्यक्रम अनुसार आधारभूत कानूनी प्रक्रिया सम्बन्धी ज्ञान, सुरक्षा व्यवहार सम्बन्धी व्यवहारिक सीप, निर्वाचनमा म्यादी प्रहरीले पालना गर्नुपर्ने कर्तव्य तथा आचरण सम्बन्धी १५ दिनको तालिम दिइनेछ’ मापदण्डमा भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लामा खटाइने व्यवस्था मापदण्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस