जसपामा छँदा मेरो मानमर्दन भयो : मेयर सरावगी

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १६ : ४२
जसपामा छँदा मेरो मानमर्दन भयो : मेयर सरावगी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफ्नो मानमर्दन भएकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताए पनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले एमाले प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफूले जसपाबाट दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको मेयर सरावगीको भनाइ छ ।

‘म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि’ उनले भने ।

मेयर सरावगीले अघि भने, ‘तर लगातार मसँग दुर्व्यवहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिएँ कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’

आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसबाट जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ ।‘‘कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरु त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ जनप्रतिनिधिका लागि’ मेयर सरावगीले भने ।

अब एमालेले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने सरावगीले बताए ।

प्रतिक्रिया दिनुहोस