तालिवानका वरिष्ठ नेता हक्कानी पहिलोपटक सार्वजनिक

एजेन्सी

आइतबार, २२ फागुन २०७८, १४ : ५९
तालिवानका वरिष्ठ नेता हक्कानी पहिलोपटक सार्वजनिक

एजेन्सी । अफगानिस्तानका अन्तरिम गृहमन्त्री तथा तालिवानका वरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन् । अखबार डनका अनुसार हक्कानी सरकारी कार्यक्रममा सहभागी भएका थिए । हालसम्म उनी अमेरिकाले जारी गरेको मोस्ट वान्टेड सूचीमा परेका थिए । 

हक्कानी शनिबार काबुलमा अफगान प्रहरी अधिकारीहरूको पासिङ आउट परेडमा सहभागी भएका थिए।  कार्यक्रम अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रम सकिएपछि तालिबानले नै कार्यक्रममा सहभागी हुँदा सिराजुद्दीन हक्कानीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो । 

यसै क्रममा उनले प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्दै भने, ‘म तपाईंहरुको सन्तुष्टि र आश्वासन दिन मिडिया र जनताको अगाडि आएको हुँ ।’हालसम्म सिराजुद्दीन हक्कानीको एउटा मात्र तस्बिर सार्वजनिक भएको थियो जसमा उनको अनुहार निकै धमिलो देखिन्छ । गतवर्ष अगस्तमा काबुलमा तालिबान प्रवेश गरेपछि उनले तालिवानका वरिष्ठ अधिकारीहरू र विदेशी पाहुनाहरूलाई भेट्ने क्रम जारी राखेका थिए, तर ती बैठकहरूको कुनै तस्बिर सार्वजनिक गरिएको थिएन । एकपटक उनी एउटा च्यानललाई अन्तर्वार्ता दिँदै पनि देखिएका थिए तर त्यसमा पनि उनको अनुहार देखाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस