परीक्षा सारिएपछि विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, ०८ : ३८
परीक्षा सारिएपछि विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ

जनकपुरधाम । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्ष सारिएको विरोधमा वीवीए प्रमथ वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् ।

बिना सूचना परीक्षा सारिएको आक्रोसित विद्यार्थीको भनाइ छ । विश्वविद्यालयले पटक(पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए ।

‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नारावाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने ।

६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले भने, ‘समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलवाड गरिरहेको छ । परीक्षाको सूचना पटक(पटक निकाल्छ र पटक(पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरूको भविष्य कस्तो होला ?'

विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन् । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस