माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १४ : ४२
माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्नबाट रोक्न सक्ने स्थिति नदेखिएपछि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने अन्तिम तयारी गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै सत्ता गठबन्धन भत्काएर प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने अन्तिम तयारीमा लागेपछि सरकारबाट बाहिरिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।उनका अनुसार शुक्रबार खुमलटारस्थित प्रचण्ड निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले समेत उक्त निर्णय गरेको छ। उनका अनुसार आफ्ना दलका मन्त्रीहरुलाई फिर्ता बोलाए पनि देउवा सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने उक्त बैठकले निर्णय गरेको छ।‘एमसीसी पेचिलो बन्दै आएपछि पार्टी सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ’, उनले भने, ‘पार्टीले मन्त्रीहरुलाई जुनसुकै बेला फिर्ता बोलाउनसक्छ। तर सरकारलाई दिँदै आएको समर्थन भने तत्काल फिर्ता नलिएको समझदारी भएको छ।’

उनका अनुसार पार्टीको यही निर्णयबारे प्रधानमन्त्री देउवालाई जानकारी दिन माओवादी अध्यक्ष प्रचण्ड आजै बालुवाटार जाँदैछन्। पार्टीको निर्णयबारे जानकारी दिएर प्रचण्डले सत्ता गठबन्धन बचाउन अन्तिम कोसिस गर्नेछन्। जसअनुसार उनले माओवादी बैठकको निर्णयानुसार अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान प्रस्तुत गर्नेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने ती नेताले जानकारी दिए।

प्रतिपक्षी एमालेले प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाडे पनि सरकारलाई दिँदै आएको समर्थन फिर्ता नलिए के गर्ने भन्ने प्रश्न गर्दै आएको छ। तर ओली माओवादी र एकीकृत समाजवादीले सरकारलाई दिँदै आएको समर्थनसमेत फिर्ता लेओस् भन्ने पक्षमा रहेको छ। यसपछि मात्रै संसदमा ठूलो दलको हैसियतमा आफू पुनः प्रधानमन्त्री हुन पाउने ओलीको भित्री योजना रहेको बताइन्छ।

माओवादी बैठकमा नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने टुटाउने नहुनेबारे आआफ्नो धारणा राखेका थिए। केही नेताले माओवादी सरकारमै रहेर एमसीसीको विपक्षमा जाँदा विश्वसनीयतामाथि प्रश्न उठ्ने धारणा राखेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहनेबारे निर्णय गर्न दबाब दिएका थिए। देउवा सरकारमा माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा, ऊर्जामन्त्रीमा पम्फा भुसाल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेल,  भूमिसुधारमन्त्रीमा शशि श्रेष्ठ, युवा तथा खेलकुदमन्त्रीमा महेश्वरजंग गहतराज र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बाेधमायाकुमारी यादव रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस