जनप्रतिनिधि सामाजिक चिकित्सक हुन : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १४ : ३४
जनप्रतिनिधि सामाजिक चिकित्सक हुन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तक्र्रियामा उनले समाजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व जनप्रतिनिधिको भएको उल्लेख गरे ।  

अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधि सधैँ आफ्नो क्षेत्रका जनताको माझमा हुने हुँदा विभिन्न सामाजिक समस्याबारे जानकारी हुने बताए । जनताले स्वास्थ्य समस्याको विशेषज्ञ सेवा चिकित्सकबाट पाए पनि सामाजिक समस्याको समाधानका लागि भने जनप्रतिनिधिकै भर पर्नुपरेको उनको भनाइ थियो । “जनप्रतिनिधिको दायित्व धेरै छ, वास्तवमा समाजका सबै प्रकारका रोगको उपचार जनप्रतिनिधिले गर्नुपर्छ”, उनले भने “कोभिड–१९ विरुद्धको प्रतिकार्य योजना, रोकथाम र खोप सेवा विस्तारका लागि जनप्रतिनिधिबाट उदाहरणीय काम भएको छ, जनप्रतिनिधिको सक्रिय सहभागिताबिना नेपालले कोभिड–१९ विरुद्ध सफलता प्राप्त गर्नसक्ने अवस्था थिएन ।” कोभिड–१९ विरुद्धको खोप अभियानमा कर्णाली र मधेस प्रदेशमा सङ्घीय सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने उनले सुझाव दिए । 

सबै तहका जनप्रतिनिधिले एकपटक पुनः आ–आफ्नो गाउँ फर्केर खोप लगाउने वातावरण सिर्जना गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रियसभा सदस्यदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिले जनचेतना फैलाउन एक अर्काबीच प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता देखेको उनले उल्लेख गरे । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताले सबैभन्दा बढी विश्वास र भरोसा गर्ने व्यक्ति नै जनप्रतिनिधि भएको बताए । उनले कर्णालीमा अधिक भौगोलिक विकटता, हिमाली हावापानी र रिपोर्टिङमा प्राविधिक समस्या देखिएका कारण कोरोनाविरुद्धको खोप लगाउने नागरिकको यकिन तथ्याङ्क अझै आउन नसकेको प्रष्ट पारे । मुख्यमन्त्री शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५२ प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले दोस्रो मात्रा तथा ५० हजार ९३ जनाले बुष्टर डोज लगाएको जानकारी दिए । 

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोना महामारीविरुद्धको लडाइँ हरेक नागरिकका लागि सिकाइ, साहस र पे्ररणा भएको विचार व्यक्त गरे । जनप्रतिनिधि र स्वास्थ्य क्षेत्र सँगसँगै जाँदा महामारी रोकथाम प्रभावकारी बन्न सकेको उनको भनाइ थियो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्राविधिक सहयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सम्पन्न अन्तक्र्रियामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रमुख डा राजेश संभाजीराव पाण्डव, मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रालगायतको सहभागिता छ । मन्त्रालयका प्रवक्ता मिश्राले कोरोनाविरुद्धको प्रतिकार्य योजनामा प्रदेशसभाका सदस्यको के भूमिका हुन सक्छ ? भन्नेबारेमा विगतको अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। 

अन्तक्र्रियामा कोभिड–१९ विरुद्धको कभरेज प्राप्त गर्न सांसदको भूमिका, नेपालमा जोखिम सञ्चार तथा सामुदायिक सहभागिता संयन्त्र, जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, सरकारको खोप रणनीतिलगायतका प्राविधिक सत्रमा विज्ञको प्रस्तुतीकरण गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस