मल ल्याउन नसकेका मन्त्रीले असफल भएको स्वीकारे

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, २१ : ४४
मल ल्याउन नसकेका मन्त्रीले असफल भएको स्वीकारे

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेक्का प्रक्रिया (टेण्डर) बाट रासायनिक मल खरिद गर्न असफल भएको स्वीकारेका छन् । मन्त्री पद सम्हालेको एक सय दिनको कार्यसम्पादनबारे सोमबार जानकारी दिँदै मन्त्री यादवले झन्झटिलो र लामो ठेक्का प्रक्रियाकै कारण किसानले समयमै मल नपाएको बताए  ।

‘मल आयात गर्ने प्रयास जारी छ, केही मात्रामा आइरहेको पनि छ । तर, ठेक्का प्रक्रियाबाट जति प्रयास गरेपनि असफल भइरहेका छौं,’ मन्त्री यादवले भने, ‘जुन प्रणाली असफल भइसकेको छ, त्यसलाई नै हामी जोड दिइरहेका छौं । त्यसैले समस्याको हल भइरहेको छैन ।’ अहिले अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत खरिद हुन्छ । कृषि सामग्रीले ७० प्रतिशत र साल्टले ३० प्रतिशत खरिद गरिरहेको छ । ती दुबैले ग्लोबल टेण्डर प्रक्रियमार्फत खरिद गर्छन् ।

टेण्डर प्रक्रियाबाट मल खरिद गर्दा करिब ७ महिना नै लाग्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मलका लागि आवश्यक कच्चा पदार्थको मूल्य अत्याधिक रुपमा बढेको छ भने मागअनुसार पूर्ति हुन सकेको छैन । उत्पादक कम्पनीहरुले नै कच्चा पदार्थ पाइरहेका छैनन् । जसले गर्दा बजारमा मलको थप समस्या देखिएको छ । यी समस्याहरु समााधन गर्न जीटूजी मार्फत मल खरिद र नेपालमै मल कारखाना आवश्यक रहेको मन्त्री यादवले बताए ।

‘मल समस्या आजको मात्रै होइन, विगतदेखिकै हो । अन्तर्राष्ट्रिय बजारमा मलको कच्चा पदार्थ मूल्य करिब ३ सय प्रतिशत बढेकाले सरकारले जति अनुदान दिएपनि समयमै मल आउन सकेन,’ उनले भने, ‘अबको विकल्प नेपालमै मल कारखाना स्थापना, जीटूजीबाट मल खरिद र इन्धनमाजस्तै मलमा पनि स्वाचालित मूल्य कायम हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस