नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको छ : शिक्षाविद्

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १५ : १९
नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको छ : शिक्षाविद्

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् ।त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरूसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् ।

छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्याको समाधान तालाबन्दीबाट नहुने बताए । उनले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताए ।

त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । उनले कतिपय बेलामा विद्यार्थीहरूले विषय एक तर माग अर्को हुने गरेको पनि बताए।

प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताए। उनले विद्यालयहरू राजनीतिक पार्टीहरूको षड्यन्त्र गर्ने ठाउँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरूलाई शिक्षामा असर पार्न दिनबाट रोक्न सक्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताए । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको उनको भनाइ छ ।

चेम्जोङले हरेक प्रदेशमा सरकारले एकरएक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राखे । विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको ¥याङ्किङमा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको उनको भनाइ छ ।

प्राध्यापक चेम्जोङले राजनीतिक दलहरूप्रति व्यंग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरूलाई स्थान दिन सुझाव दिए ।छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराए ।उनले त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रूपमा समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै, प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गरे । उनले विश्वविद्यालय र प्राध्यापकहरूले अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताए  ।

प्राध्यापक चलाउनेले आफूमाथि गत वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीबाट नभइ पैसा दिएर किनेका गुण्डाहरूबाट भएको दाबी गरे ।त्यस्तै प्राध्यापक राजन आचार्यले आंशिक प्राध्यापकहरूको माग समान कामको समान पारिश्रमिक भएको भन्दै प्रतिस्पर्धाबाट स्थायीमा जान आफूहरू तयार रहेको बताए ।

बैठकमा ज्ञान गोष्ठीका सदस्य सुशील प्याकुरेलले शिक्षा क्षेत्र र विश्वविद्यालयको तरिकालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए। विश्वविद्यालयहरुले राष्ट्रिय विषयहरूमा गहन छलफल गरेर त्यसको चिरफार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस