मन्त्रिपरिषद्ले दियो श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ०४
मन्त्रिपरिषद्ले दियो श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो । 

मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, संचालन मोडालिटी लगायत पक्षबारे अध्ययन गरिरहेको छ ।  मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलव स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

श्रमिक स्वस्थ र सुरक्षित भए भने उत्पादन बढ्ने र श्रमिकको व्यावसायिक स्वास्थ्य र सुरक्षाले उद्योगको निरन्तरता सम्भव रहेको भन्दै मन्त्री श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न श्रमिक अस्पताल आवश्यक रहेको बताए । श्रमको सम्मान‚ सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षाको प्रभावकारी कार्यन्वयनका लागि श्रमिक अस्पताल निर्माण आवश्यक देखिएको उनको भनाइ छ । यसका साथै, वैदेशिक रोजगारीमा रहेका लाखौं श्रमिक र उनिहरुको परिवारको स्वास्थ्य सुरक्षा हित पनि सम्वोधन गर्ने गरी श्रमिक अस्पताल निर्माण आवश्यक उनको भनाइ छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल छन् तर श्रमिकका लागि छुट्टै अस्पताल छैन । श्रमिकका लागि कामको सिलसिलामा पेसागत कारणले लाग्ने रोगका लागि रोगको निदान, रोकथाम र उपचार गर्न रोगको अनुसन्धान र निदान एवं उपयुक्त उपचार गर्ने केन्द्रसहितको श्रमिक अस्पताल अति आवश्यक भएकोले सरकारले श्रमिक अस्पताल निर्माण अघि बढाएको हो । 

अस्पतालको उद्धेश्यमा ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनिहरुको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल  विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था कार्यन्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनिहरुको परिवारका सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस