एमसीसीबारे प्रधानमन्त्रीसँग प्रचण्डले राखेका पाँच विषय

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, २० : १८
एमसीसीबारे प्रधानमन्त्रीसँग प्रचण्डले राखेका पाँच विषय

काठमाडौं । बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो । 

बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्‍यो । सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदी एमसीसी टेबल गर्न सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय समेत गरेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न गयो । 

केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा अल्पमतमा पर्न गए । जसका कारण एमसीसी पास गराउने निर्णय प्रचण्डले गर्न सकेनन् । 

पार्टीले एमसीसी यथास्थितमा गर्न नसक्ने निर्णयबारे जानकारी गराउन उनी सोझै बालुवाटार पुगे । जहाँ उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै वार्ता गरे। 

वार्ताका क्रममा प्रचण्डले एमसीसी पास गर्न नसक्नाको पाँच कारण बारे प्रधानमन्त्री देउवालाई बताए । प्रचण्डसँगको भेटबारे देउवा र प्रचण्डले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका थिए । 

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफू अन्तर्राष्ट्रिय जगतबाट अलगिदै गएको बताएका थिए । 'विश्वबाट म एक्लिँदै गएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो' प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो । 

पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।

उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दु:खेसो पोखे । 
'यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन' प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो । 

त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पूरानो प्रस्तावलाई फेरि सम्झाए । 'चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौं' प्रचण्डले प्रस्ताव गरे । 

प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए । 

त्यसपछि यसबारे थप छलफलका लागि भोलि गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए । 

प्रतिक्रिया दिनुहोस