अमेरिकीहरुलाई युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी

शुक्रबार, २८ माघ २०७८, ११ : ५८
अमेरिकीहरुलाई युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् ।

युक्रेमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले  बताएका छन् । ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौं । यो निकै जटिल अवस्था हो ।’

रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन् । युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए । ‘अमेरिका र रसियाले एक अर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो । यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौ,’ उनले थपे । 

रसियाले युक्रेनको सीमामा करिब एक लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरुले आपत्ति जनाउँदै आएका छन् । तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस