स्पेनिस ला लिगा : गेटाफेको सानदार जित

एजेन्सी

शनिबार, २२ माघ २०७८, ०९ : १९
स्पेनिस ला लिगा : गेटाफेको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगाको २३औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २९औं मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।

गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन ।

५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट् प्रहार गरेपनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन । गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए । जितसँगै गेटाफे १४औं स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अंक छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।

अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अंक पुगेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस