स्थानीय निर्वाचनबारे गठबन्धनले सारेको विकल्प संविधानसम्मत छैनन : कांग्रेस महामन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, २० : १५
स्थानीय निर्वाचनबारे गठबन्धनले सारेको विकल्प संविधानसम्मत छैनन : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन ऐनले गरेको व्यवस्था संशोधन गर्नु संविधानसम्मत नहुने बताए ।

‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरू गठबन्धनभित्र प्रवेश भएको छ र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ती कुनै पनि विषयहरु संविधानसम्मत छैनन्’ उनले भने, ‘हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौ भनेर जुन कुरा आइरहेको छ, त्यो गर्‍यौँ भने संविधानसम्मत हुँदैन ।’

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषय संविधानसम्मत नभएकाले कांग्रेसले यसलाई बोक्न नहुने पनि महामन्त्री थापाले बताए । ‘यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । बोक्नु हुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझिने गरी कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।’

आफूहरूले उठाएको कुरा सभापति देउवाले गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफू आशावादी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस