वीरगञ्ज नाकाबाट बालिकाको उद्धार, एक पक्राउ

रासस

मंगलबार, ११ माघ २०७८, २० : ४०
वीरगञ्ज नाकाबाट बालिकाको उद्धार, एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई आज उद्धार गरेको छ । 

बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य  द्वारबाट उद्धार गरिएको हो । यही माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो । 

बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

अधिकारीले बालिकासँग लगभग एक महिनाअघि देखि फोनमार्फत चिनजान गरेर अर्घाखाँची लगी विवाह गर्ने प्रलोभन देखाएर झुक्याई वीरगञ्ज बसपार्कसम्म ल्याएको र अब पाँच मिनेटमा घर पुगिन्छ भनी इनर्वा नाका हुँदै भारततर्फ लगिँदै गरिएको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरीको भनाइ छ । जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गराएर अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।