फरार रहेकी प्रदेश सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, २० : २४
फरार रहेकी प्रदेश सांसद खातुनलाई मतदान गर्न ल्याउने एमालेको तयारी

मोरङ  । राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । 

प्रदेश १ एमालेले संसदीय दलका नेता भीमप्रसाद आचार्य, पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश इन्चार्ज देवराज घिमिरे र प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई प्रदेश सांसद खातुनलाई मतदान गराउने जिम्मेवारी दिएको हो ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सांसद खातुनलाई मतदान गराउने वतावरण बनाउने प्रयास भइरहेको बताए । प्रदेश सांसद खातुनलाई मतदान गर्ने वातावरण मिलाउनका लागि प्रदेशका नेताहरूलाई जिम्मेवारी दिइएको उनको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङले फरार रहेकी प्रदेश सांसद खातुनलाई समात्न सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान गर्न आउने क्रममा नै समात्नका लागि प्रहरीले जिल्लाभरि सादा पोसाकमा प्रहरी परिचालन गरेको हो । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले प्रदेश सांसद खातुनको हकमा गर्नुपर्ने काम प्रहरीले कानुनअनुसार गर्ने बताए । प्रदेश सांसद खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छिन् । 

प्रतिक्रिया दिनुहोस