दर्शनको दुई गोलमा एनआरटीको सहज जित

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १६ : १९
दर्शनको दुई गोलमा एनआरटीको सहज जित

काठमाडौं । युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोल प्रेरित न्युरोड टिम एनआरटीले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नवौँ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ ।

६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले पहिलो अग्रता लिएको थियो । ७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

अन्य समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।  ८५औं मिनेटमा जावलाखेलका मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २-० को नतिजा सुम्पिएको थियो । नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ । पछिल्लो खेलमा जावलाखेल एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यससँगै लिगको नवौं चरणको खेल समाप्त भएको छ । अब लिगमा अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । नेपालले १५-१८ माघमा मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस