बिमस्टेक सम्मेलन चैत १६ मा गर्न नेपाललाई प्रस्ताव

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १२ : ३७
बिमस्टेक सम्मेलन चैत १६ मा गर्न नेपाललाई प्रस्ताव

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलन आगामी चैत १६ गते श्रीलंकाको कोलम्बोमा आयोजना हुने भएको छ ।

नेपाल भ्रमणमा रहेका बिमस्टेक महासचिव तेन्जिङ लेकफेलले उक्त मितिमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी नेपाललाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र प्रवक्ता सेवा लम्सालले बिमस्टेक महासचिवले उक्त मिति प्रस्ताव गरेको जानकारी दिइन् । तर, सम्मेलनको भविष्य कोभिड-१९ महामारीको स्थितीमा निर्भर हुने उनको भनाई छ ।

महासचिव लेकफेलले सम्मेलनको उक्त मिति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री खड्कालाई जानकारी दिएका छन् । बिमस्टेक सचिवालयले उक्त मितिमा सम्मेलन आयोजना गर्नेबारे सबै सदस्य मुलुकलाई निम्तो पठाइसकेको छ ।

तर, महासचिव लेकफेलले सबै सदस्य मुलुकका राजनीतिक नेतृत्वसँग परामर्श पछि मात्र सम्मेलनको मिति तय गर्ने जनाइएको छ । चार दिने नेपाल भ्रमण पुरा गरी महासचिव लेकफेल आज ढाका फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस