सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदमा छको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १८ : ४९
सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदमा छको उम्मेदवारी दर्ता

काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेको तीन राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज छ जनाले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् । धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराए ।

खुल्लातर्फको एक सिटमा कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र र एमालेबाट डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले बताए । यसैगरी महिलातर्फको एक सिटमा एमालेबाट कैलालीकी सन्तोषकुमारी शर्मा थापा र नेकपा एकीकृत समाजवादीबाट कैलालीकै मदनकुमारी (गरिमा) शाहले उम्मेदवारी दर्ता गराए। दलिततर्फको एक सिटमा एमालेबाट बैतडीका नरेश विक र नेकपा माओवादी केन्द्रबाट डडेल्धुराका जगत पार्कीले उम्मेदवारी दर्ता गराए  ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताले संयुक्तरूपमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । आगामी माघ १२ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीन जना सदस्यको निर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नु हुने नेपाली कांग्रेसका तरादेवी भट्ट, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र नेकपा एमालेका चक्र स्नेहीको कार्यकाल आउने फागुनमा सकिँदै छ ।

प्रदेशमा यो निर्वाचनका लागि प्रदेशसभा सदस्य ५२ र ८८ पालिका प्रमुख÷उपप्रमुख १७५ गरी २२७ मतदाता रहेका छन् । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक÷एक सदस्य रहेका छन् ।

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त छ । यस्तै कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएकाले यो पद पनि रिक्त छ । रावल नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख÷उप प्रमुखको मत भार १८ रहेको छ ।