पहिलो चरणमा भएको निर्वाचनको मतगणना सुरु

विहीबार, २१ मंसिर २०७४, १७ : ३४
पहिलो चरणमा भएको निर्वाचनको मतगणना  सुरु

दोस्रो चरणको  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान बिहिबार ५ बजे सकिएसँगै पहिलो चरणमा  मंसिर १० गते भएको  मतदानको मतगणना अधिकांश जिल्लामा सुरु भएको छ ।

मंसिर १० गते  ३२ जिल्लाको मतदान भएको थियो ।  निर्वाचन आयोगले  दोस्रो चरणको निर्वाचन सकिएलगत्तै  बिहिबार ५ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेसँगै   मतगणना सुरु भएको हो ।

प्राप्त   जानकारीअनुसार गोरखा,  नुवाकोट, रसुवा, रूकुम ओखलढुंगा, डोल्पा, सिन्धुपाल्चोकलगायतका जिल्लामा मतगणना सुरु भइसकेको छ ।  मतगणना सुरु गर्नका लागि  दिउँसै सर्वदलीय बैठक बसेका थिए भने बाँकी जिल्लामा पनि मतगणनाको सुरु भएको छ ।

 गोरखमा क्षेत्र नम्बर २ को मतगणना क्षेत्र जिल्ला समन्वय समितिको भवनमा  सुरु भएको छ ।  जहाँ नयाँ शक्तिका बाबुराम भट्टराई र माओवादी केन्द्रका  नारायणकाजी श्रेष्ठको उम्मेदवारी रहेको छ । यस्तै क्षेत्र नम्बर १ को मतगणना  जिल्ला अदालतमा  सुरु भएको छ ।

१० गतेको निर्वाचनमा  करीब ६५ प्रतिशत मत खसेको थियो । पहिलो चरणमा ६ वटा प्रदेशका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको  निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यर्होनु पर्ने निश्चित छ ।

गत कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । कात्तिक ८ गते सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ति उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । जसमा १०० जनाको उम्मेदवारी फिर्ता भएको थियो भने एक जनाको उम्मेदवारी रद्द समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस