ए डिभिजन लिग: सातदोबाटोमाथि जावलाखेलको सहज जित

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १५ : ३२
ए डिभिजन लिग: सातदोबाटोमाथि जावलाखेलको सहज जित

काठमाडौं । सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार भएको खेलमा वैकल्पिक खेलाडी विपिन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछि जावलाखेलले सहज जित पाएको हो । 

खेलको ५०औँ मिनेटमा जावलाखेलले अग्रता बनाएकाे थियो । जावलाखेलका वैकल्पिक खेलाडी विपिन कँडेलले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७०औँ मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी निकोलास फर्नाण्डेजले बक्स बाहिरबाट गरेको प्रहारमा गोलरक्षक अभिषेक बराललाई टच हुँदै बलले जाली चुम्यो । 

खेलमा सातदोबाटोको तुलनामा जावलाखेलले बलमाथि पकड र पोस्ट बढी जमायाे । जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ । यता, सातदोबाटो समान खेलबाट ८ अंकसहित पाचौँ स्थानमा यथावत छ । 

योसँगै शीर्ष डिभिजन लिगको छैठौँ चरणको खेल सकिएको छ । १३ अंक बनाएको मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । तीन अंक बनाएको फ्रेण्ड्स पुछारमा छ । 

 

प्रतिक्रिया दिनुहोस