‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’

पत्रपत्रिकाबाट

आइतबार, ११ पुस २०७८, ०७ : ४७
‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’

तेह्रथुम । नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन । तेह्रथुम लालीगुराँस नगरपालिका ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् ।

सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन । उनलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो । ईलामबाट दुई सय किबीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती गरेका थिए ।

पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउथें । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबाली आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए । उनी भन्छन्, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको रु मानसिकता नै गुमेछ पनि भने । हौंसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर म निरन्तर रुपमा आफूले गरेको खेतीमा लागी रहेँ । जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभ्याउँछन् ।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । घरनजिकै बगानमा उनी बिहान बेलुकी र फुर्सदको समयमा किबी हेरचाहमै समय बिताउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनी आफ्नो खेतीबाट दंग छन् । उनी थप्छन्, ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजारमा पुर्‍याए ।

अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छु । मैले अन्नबाली लगाउँदा बढीमा आठरदश हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस