अवैध मल गोदाममा प्रशासनको सिल : धनलक्ष्मीले अवैध मल र विषादी बिक्री गरेको फेला

प्रकाश सिग्देल

विहीबार, ०८ पुस २०७८, १९ : १४
अवैध मल गोदाममा प्रशासनको सिल : धनलक्ष्मीले अवैध मल र विषादी बिक्री गरेको फेला

चितवन । चितवन नारायणगढस्थित बाह्रघरेको एक अवैध मलको गोदाम जिल्ला प्रशासन कार्यालय चितवनले सिल गरेको छ । धनलक्ष्मी बायो टेक्नोलोजी प्रालि नामक कम्पनीको गोदाममा अवैध रुपमा भन्सार छलेर ल्याइएको १०० बढी बोरा जैविक दानेदार मल फेला परेपछि जिल्ला प्रशासन कार्यालयले गोदाम सिल गरी सन्चालकलाई आवश्यक कागजातसहित कार्यालयमा आउन निर्देशन दिएको छ । 

आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन नसके मल जफत गरी व्यवसायीलाई कारबाही गरिने प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । वीरगन्ज घर भएका राहुल कुमार चौबे नामका व्यक्तिले अवैध धन्दा गरेको भन्ने उजुरीका आधारमा प्रशासनले अनुगमन गरेको थियो ।

एक सयभन्दा बढी बोरा प्याकिङ गरिएको भुअमृत ब्राण्डको मल, अन्य एक सय जति प्याकिङ गर्नका लागि ल्याइएको मल र ठूलो मात्रामा रासायनिक विषादी यहाँ फेला परेको हो । अनुगमनका क्रममा खरिद बिल नभएको भन्सार तिरेको कागजात केही नभएको पाइएको शर्माको भनाइ छ । मुख्य व्यवसायी फेला नपरेपछि आफूहरुले कर्मचारी र स्थानीयको रोहबरमा गोदाम सिल गरी उसलाई  फोन गरेर कागजातसहित प्रशासनमा हाजिर हुन निर्देशन गरेको शर्माले बताए ।

ब्यवसायीले बाहिरबाट भन्सार छली मल ल्याएर यहाँ ३  किलाको प्याकेट बनाएर १७ सय ५० रुपैयाँमा अर्गानिक मल भनी घरघरमा लगेर बिक्री गरेको भेटिएको हो । यसले किसानको घरघरमा पुगी प्याकेट मल र अवैध रुपमा भित्र्याएको विषादीलाई अर्गानिक दानेदार मल भनी बिक्री गरेको उजुरी प्रशासनमा परेको शर्माले बताए ।

कृषि कर्ममा प्रयोग हुने मल तथा विषादी अवैध रुपमा भित्र्याएर अवैध रुपमा बिक्री  गरेको पाइएकोले आवस्यक छानबिन गरी यसलाई कारबाही प्रक्रियामा लगिने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवाराज पाण्डेले बताए । आफुहरुले वीरगञ्जबाट मल ल्याएर यहाँ सानो प्याकेट बनाएर किसानकोमा बिक्री गर्ने गरेको त्यहाँ कार्यरत कर्मचारी अरबिन्द तिवारीले बताए । गोदाममा ठुलो मात्रामा रासायनिक विषादी समेत फेला परेको छ । जुन अवैध रहेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।  कम्पनीले आइएसओ प्रमाणपत्र पाएको मल भन्दै ठगी गरेको थियो । 

 


 

प्रतिक्रिया दिनुहोस