एएफसी कप खेल्ने होडमा मनाङ र मछिन्द्र

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १३ : ०८
एएफसी कप खेल्ने होडमा मनाङ र मछिन्द्र

काठमाडौं । नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ । अहिले यस्तै भएको छ । त्यो पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग ।  

शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौ चरणको खेल सकिएको छ । आगामी शुक्रबारबाट छैटौं चरणको खेल हुँदैछ । यसपटक सातौं चरणको खेलपछि शीर्ष टोलीले एएफसी कप खेल्न पाउने छ । कारण, समयमै प्रतियोगिता नहुनु । 

अघिल्ला वर्षहरूमा लिग सकिएपछि शीर्षस्थानमा रहने टोलीले एएफसीको प्रतियोगिता खेल्ने गर्दथ्यो । तर यसपटक त्यस्तो भए । लिग चलिरहँदा सातौ चरणमा शीर्षस्थानमा हुने टोलीले एएफसी प्रतियोगिता खेल्ने भयो । यो भनेको लिग जित्ने टोलीको एएफसीबाट ठूलो मात्रामा अनुदान पाउनु हो । यता, लिग जित्नेले मात्र इतिहासमा नाम खेलाउने छ । बाँकी पुरस्कार राशि (७५ लाख) त पाउने नै भयो । 

जारी लिगमा को एएफसी कप खेल्न छनोट हुने ? भन्ने प्रतिस्पर्धा छ । एएफसीको प्रतियोगिता खेल्न एएफसी लाइसेन्स अनिवार्य हुनुपर्छ । यस वर्षको लागि साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, कीर्तिमानी आठौंपटक विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ फुटबल क्लबसँग लाइसेन्स छ । जुन वर्षेनी नवीकरण हुने गर्दछ । 

जारी लिगमा एएफसी लाइसेन्स पाएका क्लबबाहेक अन्य क्लब शीर्षस्थानमा भए पनि त्यसपछि तालिमा रहने टोलीले छनोटमा स्थान बनाउनेछ । 

पाँचौ चरणका खेल सकिँदा मनाङले २ अंकको अग्रता राख्दै शीर्षस्थानमा कायम राखेको छ । त्यसलाई पछ्याएको मछिन्द्र ११ अंकसहित दोस्रो स्थानमा छ । यता, पछिल्लो खेलमा लय समातेको आर्मी ९ अंकसहित तेस्रो स्थानमा छ । 

पहिलोपटक घरेलु मैदान पोखरामा लिग खेलेको मनाङ विभागीय टोली पुलिसलाई ३-१ ले पराजित गर्दै गत शनिबार शीर्षस्थानमा फर्कियो । काठमाडौंमा संकटासँग मछिन्द्र गोलरहित बराबरीमा रोकिएसँगै मनाङलाई शीर्षस्थानको अवसर थियो । यता, आर्मीलाईसमेत पाँचौ चरणमा नवप्रवेशी सातदोबाटोसँग तीन अंक खोस्दै अंक दूरी घटाउने अवसर थियो । तर आर्मी अंक बाढ्न बाध्य भयो । 

अब, छैटौं चरणमा मनाङ र मछिन्द्र भिड्दैछन् । यही खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको निर्णय गर्नेछ । दुवै टोलीका लागि यो खेल निर्णायक हुनेछ । यो खेलमा जित हात पार्ने क्लबले शीर्षस्थानमा आफ्नो कब्जा जमाउनेछ । 

मनाङले जितेमा उसको शीर्षस्थानमा ५ अंकको अग्रता हुनेछ । हारेमा भने मछिन्द्रले १ अंकको अग्रता बनाउनेछ । यदि यो खेल बराबरीमा गए मछिन्द्रकाे सम्भावना कम हुँदा मनाङको सम्भावना बलियो हुन्छ छ । 

मनाङ र मछिन्द्र बराबरी खेल्दा यसको फाइदा अर्काे विभागीय टोली आर्मीले लिन सक्छ । ९ अंक भएको आर्मी थ्रीस्टारविरुद्ध खेल्दैछ । खराब लयमा रहेको थ्रीस्टारविरुद्धको जितले आर्मीलाई समेत छनोटको होडमा लैजानेछ । 

यता, निर्णायक खेल रहनेछ सातौ चरण । सातौ चरणमा मनाङले सहज प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग खेल्दैछ भने मछिन्द्रले बलियो विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । 

गत सिजन मनाङबाट आधा दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी मछिन्द्र गएपछि मछिन्द्रले ऐतिहासिक लिगको उपाधि हात पारेको थियो । तर दुई टोलीबीच दशरथ रंगशालामा भएको खेल २-२ को बराबरीमा सकिएपछि मैदानभित्र खेलाडी हानाहानको अवस्थामा पुगेका थिए । यसमा संलग्न दुबै टोलीका तीन तीन खेलाडीलाई एन्फाले जरिवानासहित केही खेलमा प्रतिबन्ध लगाएको थियो । यस्तै दुवै टोलीलाई एन्फाले ५०-५० हजार रुपैयाँ जरिवाना तोक्यो ।  

यता, शीर्षस्थान र एएफसी छनोटको होडबाजी चलिरहँदा रेलिगेसन जोनबाट बच्नसमेत होडबाजी चलिरहेको छ । २ अंकसहित फ्रेन्ड्स पुछारमा छ भने समान ४ अंकका एपीएफ फुटबल क्लब, जावलाखेल युथ र च्यासल युथ क्लब रेलिगेसनबाट बच्न प्रयत्न गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस