कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १६ : २२
कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बुधबार उपसभापति पदको मात्र मतगणना हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार पार्टी कार्यालय सानेपामा केहीसमयबाट उपसभापति पदको मत गणना सुरु हुनेछ । 

दुई पद रहेको कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने बताइएको छ । 

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भइसकेका छन् । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए  । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।
 
कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । 

प्रतिक्रिया दिनुहोस