चितवनमा ३ दिन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

प्रकाश सिग्देल

बुधबार, २९ मंसिर २०७८, १६ : १३
चितवनमा ३ दिन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

चितवन । चितवनमा छैटौं चितवन अन्तराष्ट्रिय औधोगिक प्रर्दशनी हुने भएको छ । उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन , विश्व बजारका नवीनतम प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि औधोगिक प्रर्दशनी गर्न लागेको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

आगामी पुस २ देखि ४ गतेसम्मउद्योग संघको प्रदर्शनी केन्द्रमा चितवन उद्योग संघले गर्ने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले जानकारी दिए ।

 प्रदर्शनी सम्पन्न गर्न रु दुई करोड ५० लाख हाराहारी खर्च हुने बताईएको छ । “प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेको  सङ्घका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले बताए । कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक नआउने भएका छन् ।  

स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा प्रविधि साटसाट गर्नमा पनि यो प्रर्दशनी महत्वपुर्ण बन्ने संघका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले बताए । 

प्रतिक्रिया दिनुहोस