प्रकाशमान सिंहलाई आफ्नो पक्षमा पार्न देउवा पक्षधरले थाले दौडधुप

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, ०९ : २८
प्रकाशमान सिंहलाई आफ्नो पक्षमा पार्न देउवा पक्षधरले थाले दौडधुप

काठमाडौँ । पहिलो चरणमा जितका लागि आवश्यक बहुमत नपाएपछि शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा निर्णायक बन्ने देखिएका प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याउने प्रयास थालेका छन् ।

देउवाले आफ्नो दूतका रुपमा बालकृष्ण खाँडलाई सिंहको निवास चाक्सीबारी पठाएका छन् । खाँडले सिंहलाई दोस्रो चरणको चुनावमा देउवालाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो । तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए ।

यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।देउवा प्यानलले दोस्रो चरणमा गएमा आफूहरुलाई गाह्रो पर्ने मूल्यांकन गर्दै पहिलो चरणमै जितका लागि प्रयास गर्ने रणनीति बनाएको थियो ।
दोस्रो चरणमा शेखरको पक्षमा आफूहरु उभिने विमलेन्द्र निधिले चुनाव अघि नै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस