कांग्रेस महाधिवेशन : अहिलेसम्म दुई हजार मत खस्यो

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १६ : ५२
कांग्रेस महाधिवेशन : अहिलेसम्म दुई हजार मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

मतपत्र सकिएर केहीबेर राष्ट्रिय सभामा रोकिएको मतदान फेरि सुरू भइसकेको श्रेष्ठले बताए । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । 

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस