‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

पत्रपत्रिकाबाट

सोमबार, २७ मंसिर २०७८, ०७ : २८
‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार टिकाइरहन र आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आफू फेरि पार्टी नेतृत्वमा दोहोरिनुपर्ने आवश्यकता देखिएको बताएका छन्।

१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।

‘यो सरकारलाई निरन्तरता दिन र कांग्रेसलाई तीनै तहको निर्वाचनमा जिताउन पनि महाधिवेशनले मलाई सभापति निर्वाचित गर्नुपर्ने देख्छु। म सभापतिमा निर्वाचित हुन सकिनँ भने फेरि नैतिकताको कुरा उठाएर शेरबहादुर प्रधानमन्त्रीमा बस्न पाइँदैन भनेर होहल्ला हुनसक्छ,’उनले भने, ‘पार्टी सभापति जित्न नसक्नेले के देश चलाउन सक्छ भन्नेछन्।

त्यसैले सरकारलाई निरन्तरता दिन र आगामी निर्वाचनमा कांग्रेसलाई तीनै तहमा बहुमतमा पुर्‍याउन मैले सभापतिमा पुनः उम्मेदवारी दिएको हुँ।’ देउवाले निरंकुशता लाद्न खोज्ने केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको दाबी गरे।

उनले राज्यसत्तामा निरंकुश प्रवृत्ति दोहोरिन नदिन पनि अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्नुपर्ने बताए। उनले भने, ‘सभापति पदमा जिते स्थानीय तहदेखि माथिसम्मको चुनावमा बहुमत ल्याएर कांग्रेसको सरकार बनाउनेछु।

यो मेरो प्रतिबद्धता हो।’ देउवाले नेपाली कांग्रेसमा फेरि एकपटक आफू सभापति हुनैपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘सभापतिमा हारें भने मलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन्। प्रधानमन्त्रीबाट हटेपछि के हुन्छरु तपाईंहरूले देख्नुभएको थियो, अघिल्लो पटक के भएको थियो।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस