कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, १३ : ०८
कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ५७  जनाले गरे उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएकाे छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले जनाएकाे छ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् । 

(यसअघि ६० जनाले उम्मेदवारीले फिर्ता लिएकाे सूचनालाई कांग्रेस निर्वाचन समितिले सच्याएर ५७ जनाले फिर्ता लिएकाे जानकारी दिएकाले हामीले पनि यस समाचारलाई सच्याएका छाैँ ।)

प्रतिक्रिया दिनुहोस