कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, ११ : ०१
कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन्। शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।

पार्टीको निर्वाचनस्थल बाहिर पद्यमोदय सडक तथा भृकुटीमण्डपभित्र  आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन्। उनीहरु नेताको व्यानर,‘स्ट्याचु’ र श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन्।

भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ। यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन्। काठमाडौँका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन्। यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन्। 

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस