काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।
यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । पार्टीको संशोधित विधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र, २६ वटा भ्रातृ तथा शुभेच्छुक संस्था र २९ वटा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि निर्वाचित भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको मताधिकार भए पनि उनीहरू उम्मेदवार हुन पाउने छैनन् ।
महाधिवेशन प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजित समारोहमा महाधिवेशन उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् । विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । कंग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हरिबर्द्धन महाधिवेशनमा आउने कांग्रेसले जनाएको छ ।
महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिको नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । तीनवटै प्रतिवेदन बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । यसपटकको महाधिवेशनमा पार्टीको नीति तथा सिद्धान्तमाथि बहस हुने छैन ।
कांग्रेसले १४ औं महाधिवेशनलाई नेतृत्वकेन्द्रित गर्ने निर्णय गरेको छ । ‘महाधिवेशनको म्यान्डेट लिएर नयाँ नेतृत्वले केही महिनामा छुट्टै नीति महाधिवेशन गर्नेछ,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले बन्दसत्रमा पार्टीको आन्तरिक संगठन र व्यवस्थापकीय विषयमाथि बढी छलफल हुनेछ ।’ कांग्रेसको १४ औं महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
काँग्रेसको काठमाडौँ चुनावी सभा फागुन १७ गते तय, गगन र विश्वप्रकाशसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै