काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।
यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । पार्टीको संशोधित विधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र, २६ वटा भ्रातृ तथा शुभेच्छुक संस्था र २९ वटा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि निर्वाचित भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको मताधिकार भए पनि उनीहरू उम्मेदवार हुन पाउने छैनन् ।
महाधिवेशन प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजित समारोहमा महाधिवेशन उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् । विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । कंग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हरिबर्द्धन महाधिवेशनमा आउने कांग्रेसले जनाएको छ ।
महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिको नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । तीनवटै प्रतिवेदन बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । यसपटकको महाधिवेशनमा पार्टीको नीति तथा सिद्धान्तमाथि बहस हुने छैन ।
कांग्रेसले १४ औं महाधिवेशनलाई नेतृत्वकेन्द्रित गर्ने निर्णय गरेको छ । ‘महाधिवेशनको म्यान्डेट लिएर नयाँ नेतृत्वले केही महिनामा छुट्टै नीति महाधिवेशन गर्नेछ,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले बन्दसत्रमा पार्टीको आन्तरिक संगठन र व्यवस्थापकीय विषयमाथि बढी छलफल हुनेछ ।’ कांग्रेसको १४ औं महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण