हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १० : ०६
हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध

काठमाडौं । हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस