राप्रपा महाधिवेशन

अध्यक्षका लागि राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १३ : २०
अध्यक्षका लागि राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार दिउँसो नेता कार्यकर्ताका साथमा बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  

आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् । 

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र नायिका रेखा थापा उम्मेदवार छन् । उपाध्यक्षका उम्मेदवार पाण्डेको नाम भने दुबै प्यानलमा छ ।

महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गरिनेछ । 

प्रतिक्रिया दिनुहोस