मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु

रासस

शुक्रबार, १७ मंसिर २०७८, ११ : ३५
मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु

चितवन । मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा  प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको   सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए ।

अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १०० शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पिआइसियु नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने वताए । 

सो सेवाअन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुआत हुन सकेको छैन ।

मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्याको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजीलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस