सहिद स्मारक लिगः भोलिबाट तेस्रो चरणका खेल सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १३ : ३७
सहिद स्मारक लिगः भोलिबाट तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ । 

शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।

शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । 

तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक सैलीकाे दबाब खेप्नेछ । एन्फाले २० मंसिरमा तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ मंसिरमा पुर्याएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् । 

बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।  

दुई चरणको खेल सकिँदा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको मनाङ शतप्रतिशत जितका साथ शीर्षस्थानमा छ । समान ४ अंक भएका संकटा, ब्रिगेड, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । 

समान ३ अंक बनाएका थ्री स्टार र च्यासल सातौँ र आठाैँ स्थानमा रहँदा आर्मी नवौँ स्थानमा छ । समान १ अंकका शेर्पा, फ्रेण्ड्स र एनआरटी क्रमशः १० औँ, ११ औँ, र १२ औँ स्थानमा रहँदा कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेशन जोनमा छन् । १४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस