सर्लाहीका १७० वडामा कांग्रेसको अधिवेशन सम्पन्न

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, १२ : ५९
सर्लाहीका १७० वडामा कांग्रेसको अधिवेशन सम्पन्न

सर्लाही । सर्लाहीका एक सय ७० वडामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । अधिकांशमा सर्वसहमतिमा नेतृत्व चयन भएकाे कांग्रेस सर्लाहीले जनाएको छ । 

दुई सय वडामध्ये आइतबार एक सय ७० वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसकाे जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार एकाध स्थानबाहेक सबै वडामा अधिवेशन शान्तिपूर्णा ढंगले सम्पन्न भएको छ । सर्वसहमत अधिवेशन हुन नसकेको ३० स्थानमा सोमवार मतदान सुरु भएको छ । 

आधादर्जन स्थानमा भने कांग्रेसको संस्थापन र इतर पक्षबीच विवाद भएपछि अधिवेशन स्थगित गरिएको थियो । केही स्थानमा निर्वाचन सुरु गर्न नभ्याइएकोले सोमबारको लागि तय गरेका उनकाे भनाइ छ ।निर्वाचन अधिकृत राउतका अनुसार केही वडामा सर्वसहमतिको अवस्था नबनेपछि आइतबार नै मतदानबाट टुंगो लगाइएको छ ।

आइतबार स्थगित गरिएका तथा विवाद भएका सबै स्थानमा सोमबार निर्वाचन सुरु गरिएको छ । यस पटक पनि समस्या देखिए त्यस्ता वडामा अधिवेशन नगराइने उनकाे भनाइ छ । सर्लाहीमा नेपाली कांग्रेसका संस्थापन र इतर समूहबीचकाे विवादका कारण अधिवेशन अन्योलमा परेको थियो भने, अधिवेशन गराउन खटाइएका दुई निर्वाचन अधिकृतहरूले राजीनामा बुझाएर फर्किएका थिए । 

तेस्राे पटकमा सहमति

पटक पटकको छलफलपश्चात सर्लाहीमा कांग्रेसको अधिवेशन गर्न तेस्रो पटकमा सहमति बनेको हो । सोही सहमतिअनुसार प्रकृया अगाडि बढेको कांग्रेस सर्लाहीले जनाएको छ । यस्तै, प्रदेश २ अर्थात प्रदेश स्तरीय अधिवेशन सरे १४ मंसिरमा पालिका स्तरीय अधिवेशन गर्ने र नसरेमा पालिका स्तरीय अधिवेशन स्थगित गरी, प्रदेश सभा स्तरीय अधिवेशन गर्ने, १५ मंसिरमा क्षेत्रीय अधिवेशन गर्ने र १७ मंसिरमा जिल्ला अधिवेशन गर्ने सहमति भएको छ।

आइतबार बलरा नगरपालिकास्थित वडा नम्बर ८ र ९ मा कांग्रेसका दुई पक्षबीच विवाद भएपछि अधिवेशन स्थगित भएको थियो । बलरा नगरपालिका–८ अचलगडमा विवाद हुँदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सि‌ंहका निजी सुरक्षागार्डले गोली चलाएका थिए । सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगी घाईतेसमेत भएका थिए । 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस सि‌ंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहबीच कडा टक्राव रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस