न्यायालय विवाद

प्रधानमन्त्री देउवासंग आज छलफल गर्दै बार

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, ०७ : ४०
प्रधानमन्त्री देउवासंग आज छलफल गर्दै बार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार छलफल गर्ने भएका छन् ।

नेपाल बारका महासचिव लीलामणि पौडेलले छलफलका लागि प्रधानमन्त्री देउवाले बोलाएको जानकारी दिए । प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने उनले बताए ।

प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दललाई गत सोमबार बुझाएको धारणापत्र बारले प्रधानमन्त्रीलाई पनि बुझाउनेछ । ‘प्रधानन्यायाधीश जबराका कारण सिंगो न्यायालय बन्धक बनेको छ । उहाँलाई पदच्युत नगरेसम्म बारको आन्दोलन रोकिने छैन भनेर हामीले जानकारी गराउनेछौं,’ पौडेलले भने, ‘त्यसका लागि सरकार प्रमुख र संसद्को नेताका रूपमा प्रधानमन्त्रीलाई भूमिका खेल्नुस् भन्ने आग्रह गर्नेछौं ।’

प्रधानन्यायाधीश जबरालाई अवज्ञा गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् । सत्तारूढ गठबन्धनको कात्तिक ३० को बैठकले न्यायालयको विवादमा उचित निकास न्यायालयभित्रबाटै यथाशक्य दिनुपर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस