एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, ०७ : ३४
एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए। ‘कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्छौं’, पौडेलले भने, ‘बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्दैछौँ।’

महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरू बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए।

‘बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहनेछ’, पौडेलले भने, ‘त्यहाँ परिचालन भएको चिकित्सक सहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपरे हामीले तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउने  व्यवस्थासमेत गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस