यसरी हुँदैछ आज एमालेको राष्ट्रिय महाधिवेशन उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, ०७ : ३०
यसरी हुँदैछ आज एमालेको राष्ट्रिय महाधिवेशन उद्घाटन

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले बिहीबार पत्रकार भेटघाटमा भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।

भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन्। बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। होटलमा चहलपहल बढेको छ। महाधिवेशनमा सहभागी हुन आएका नेता–कार्यकर्ताको चापका कारण सवारी व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

सुरक्षा व्यवस्था कडा पारेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए। साबिकभन्दा थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उनले भने, ‘अत्यावश्यकबाहेकका मुग्लिनतर्फबाट आउने सवारीसाधन आँपटारीमा र पश्चिमबाट आउने नारायणी पुलपारि रोकिनेछन्’, उनले भने।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको तर आउनेनआउने निश्चित नभएको बताए।

प्रतिक्रिया दिनुहोस