जनताको सुःख दुःखको पार्टी कांग्रेस हो : मन्त्री कार्की

रासस

विहीबार, ०९ मंसिर २०७८, २० : ४३
जनताको सुःख दुःखको पार्टी कांग्रेस हो : मन्त्री कार्की

फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा आज कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उनले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुःखको पार्टीको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह  गरे । मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिए । 

यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उहाँले आग्रह गरे । अहिले निर्वाचित भएका पदाधिकारीको कार्यकालमा यस क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउनका लागि भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे । 

“पार्टी भित्रको आन्तरिक निर्वाचनमा पराजित भएकालाई पनि सँगै लिएर अगाडि बढ्नु आवश्यक छ”, मन्त्री कार्कीले भने । कांग्रेस क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभापति अयुव अंसारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री कार्कीले पार्टीको जिल्ला अधिवेसनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस