कुन नेताले कहाँबाट मतदान गर्दै छन चितवनमा ?

बुधबार, २० मंसिर २०७४, २१ : ०७
कुन नेताले कहाँबाट मतदान गर्दै छन चितवनमा  ?

दोस्रो चरण अन्तरगत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा भोली हुँदैछ । चितवनमा निर्वाचनको सबै तयारी पुरा भईसकेको छ । चितवनमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुले मतदान गर्दैछन् ।
दुई पटक प्रधानमन्त्री भईसक्नु भएका तथा प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं.३ का उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्ड पनि चितवनमा मतदान गर्दैहुनुहुन्छ । प्रचण्डले भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरस्थित आधारभुत विद्यालय शान्तिपुरबाट मतदान गर्दैहुनुहुन्छ । यसअघि उहाँ भरतपुरस्थित लंकुमा रहेको लक्ष्मी माविबाट मतदान गर्दै आईरहनु भएको थियो । उहाँ चितवनमा उम्मेद्वार बन्नुभएको भने पहिलो पटक हो ।

यस्तै चितवन क्षेत्र नं.३ कै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार, वन तथा भू–संरक्षण मन्त्री एवंम राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित जानकी माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्दै हुनुहुन्छ । उहाँ यसअघि पनि सोही मतदान स्थलमा मतदान गर्नुभएको थियो ।

त्यसैगरि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं.३ स्थित शहिद स्मृमती बहुमुखी क्याम्पस मतदान स्थलबाट मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैलाई भने भोट हाल्न पाउनुहुने छैन् । उहाँ चितवन क्षेत्र नं.२ को लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार हुनुहुन्छ । उहाँले मतदान गर्ने स्थान क्षेत्र नं.१ मा पर्दछ ।

यसैगरि पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता अमिक शेरचनले भरतपुर महानगरपालिका वडा नं.२६ स्थित आदर्श माध्यमिक विद्यालय दिव्यनगर मतदान स्थलबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ यसअघिका निर्वाचनमा पनि सोही मतदान स्थलबाट मतदान गर्नुभएको थियो । उहाँ २०६४ सालमा तत्कालिन क्षेत्र नं.५ बाट निर्वाचित हुनुभएको थियो भने २०७० सालको संविधानसभा निर्वाचनमा हालका वन मन्त्री विक्रम पाण्डेसंग पराजित हुनुभएको थियो ।

त्यसैगरि पूर्व अर्थमन्त्री एवंम नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.५ स्थित भण्डारा हेल्थपोष्ट मतदान स्थलबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ यसअघि पनि सोही मतदान स्थलबाट मतदान गर्नुभएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नं.१ बाट निर्वाचत पाण्डे यस पटक पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार हुनुहुन्छ ।

यसैगरि पूर्व शिक्षा मन्त्री एवंम नेकपा माओवादी (केन्द्र)का प्रभावशाली नेता धनिराम पौडेलले माडी नगरपालिका वडा नं.५ स्थित रमाईलो डाँडा आधारभुत विद्यालय मतदान स्थलबाट मतदान गर्दैहुनुहन्छ । उहाँ यसअघि पनि सोही मतदान स्थलबाट मतदान गर्नुभएको थियो । उहाँ यसअघिको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट साँसद बन्नुभएको थियो ।

त्यसैगरि निवर्तमान साँसद तथा प्रतिनिधि सभा तर्फ चितवन क्षेत्र नं.२ का वामगठबन्धनका साझा उम्मेद्वार कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिका वडा नं.१० स्थित नारायणी माध्यमिक विद्यालय मतदानस्थलबाट मतदान गर्दैहुनुहुन्छ । उहाँ यसअघि पनि सोही मतदान स्थलबाट मतदान गर्नुभएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा उहाँ तत्कालिन क्षेत्र नं.३ बाट निर्वाचित हुनुभएको थियो ।

यसैगरि पूर्व साँसद एवंम माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले पनि भरतपुर महानगरपालिका वडा नं.१० स्थित नारायणी माध्यमिक विद्यालय मतदानस्थलबाट मतदान गर्दैहुनुहुन्छ । उहाँ यअसघिको संविधानसभा निर्वाचन बहिष्कार गर्नुभएको थियो भने २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नं.२ बाट निर्वाचित हुनुभएको थियो ।

त्यसैगरि लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले राप्ती नगरपालिका वडा नं.८ बज्रहठी आवि मतदानस्थलबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ यसअघिको संविधान सभा निर्वाचनमा सोही मतदानस्थलबाट मतदान गर्दै सुरेन्द्र पाण्डेसंग पराजित हुनुभएको थियो ।

प्रतिनिधि सभा तर्फ ३ वटा र प्रदेश सभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल ३ लाख ५४ हजार मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस