ठेकेदारलाई बचाउन मन्त्रीनिकटकै व्यक्ति सक्रिय

पत्रपत्रिकाबाट

मंगलबार, ०७ मंसिर २०७८, ०७ : ५०
ठेकेदारलाई बचाउन मन्त्रीनिकटकै व्यक्ति सक्रिय

काठमाडौं । दोलखाको ‘लाइफलाइन’ चरिकोट–मुडे सडकलाई ६ वर्षदेखि अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाहीबाट बचाउन मन्त्रीनिकटकै व्यक्तिहरू सक्रिय बनेका छन्।

काठमाडौं उपत्यका जोड्ने जिल्लाको प्रमुख प्रवेश मार्ग मुडे–चरिकोट खण्ड विस्तार गर्ने जिम्मा पाएको शंकर माली निर्माण सेवाले ६ वर्षदेखि सडक अलपत्र पारेकाले उक्त कम्पनीबाट काम हुन नसक्ने भन्दै आयोजनाले ठेक्का तोड्ने तयारी गरिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवनिकट व्यक्तिहरू नै कम्पनीलाई जोगाउन लागिपरेका हुन्।

आयोजना उच्च स्रोतका अनुसार मन्त्रीका स्वकीय सचिव अशोक यादवले आयोजनाका अधिकारी र जिल्लास्थित सत्तासीन मुख्य दल कांगेस र माओवादी केन्द्रका प्रमुखलाई फोन गरेर एक पटक अन्तिम मौका दिन भन्दै ‘लविङ’ मा लागेका छन्।

स्थानीयले मन्त्री यादव, भौतिक मन्त्रालयका सचिव र विभागका महानिर्देशकको फोटो टाँसेर विरोध गर्न थालेपछि यो ठेकेदार कम्पनीमार्फत काम नहुने भन्दै ठेक्का तोड्न दबाब परेको थियो।

यो ठेकेदारमार्फत काम नहुने भन्दै जसरी पनि ठेक्का तोडेर जानुपर्ने निष्कर्ष सडक विभाग र मन्त्रालयका अधिकारीलाई बिफ्रिङ भएलगत्तै विभाग र मन्त्रालय नेतृत्वले लामोसाँघु–जिरी सडक सुधार आयोजनाको कार्यालयलाई ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि आयोजनाले प्रक्रिया अगाडि बढाइरहेको छ। स्रोतका अनुसार आयोजनाका प्रमुख कृष्णराज पन्त ठेक्का तोड्ने प्रक्रिया र मूल्यांकनका लागि एक सातादेखि राजधानीमा छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस