साझासँग एकीकरण गर्नु गल्ती भयो : मिलन पाण्डे

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १२ : ५७
साझासँग एकीकरण गर्नु गल्ती भयो : मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए ।

पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ ।  मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ।’

साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु।’

साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएकाहरुले नयाँ दल दर्ता गरेपछि बधाइ दिँदै विवेकशील आन्दोलनलाई न्याय गर्नेमा विश्वास व्यक्त गरे । वैकल्पिक राजनीतिको अभियान र साङ्गठनिक रूपमा पनि छिट्टै भेट हुने पाण्डेले बताए । ‘छिट्टै अभियानमा भेट हुने नै छ। साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगै नै हुनेछौँ । फेरि पनि, तपाईँहरूलाई शुभकामना छ। उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस