पुस २५ गतेदेखि चितवन महोत्सव हुने

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, १४ : ३२
पुस २५ गतेदेखि चितवन महोत्सव हुने

चितवन । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यो वर्ष आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा प्रत्येक दुई÷दुई बर्षमा नारायणी किनारमा हुने चितवन महोत्सव यो वर्ष पुस २५ गतेदेखि माघ ४ गतेसम्म आयोजना हुने भएको हो ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० स्टल रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी स्टल हुने गर्दथे । उद्योग वाणिज्य सघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले स्टल सङ्ख्या घटाइएको जानकारी दिए ।

महोत्सवमा डोमसहितका आकर्षक स्टल समेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनका कक्ष पनि रहने उनले बताए। महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्याउने लक्ष्य लिईएको उनले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक सहित करिव ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको छ । यस्तै १० दिन अवधिभर करिव २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । यसपटक ज्येष्ठ नागरिक, एकल महिला, अपाङता भएका व्यक्ति र सहिदका परिवारलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।

विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो । हरेक दुई÷दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोरानाले गर्दा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस