चितवनमा लाइसेन्स नविकरणको काम अर्को हप्ताभित्र सुरु हुने

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १७ : १४
चितवनमा लाइसेन्स नविकरणको काम अर्को हप्ताभित्र सुरु हुने

चितवन । चितवनमा दसैं अघि नै सुरु हुने भनिएको लाइसेन्स नविकरणको काम अर्को हप्ताभित्र सुरु हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले अर्को साता भित्र लाइसेन्स नविकरणको काम सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ ।

लाइसेन्स नविकरणका लागि इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिष्टेशन सिस्टम (ईडिएलआर) नामक सफ्टवेर जडान गर्नुपर्नेछ । सफ्टवेर जडानको काम बाँकी रहेकोले ढिलाई भएको कार्यालयले जनाएको छ । शुक्रबार यातायात बिभागबाट प्राविधिकको टोली आएर शनिबारसम्म सफ्टवेर जडान गर्ने तयारी रहेको छ । 

शनिबार भित्र सफ्टवेर जडान गरेर आइतबार लाइसेन्स नविकरणको परीक्षण गरिने कार्यालयका प्रमुख बिनोद पौडेलले बताए । उनले भने , “विभागबाट भोलि प्राविधिकको टोली आउँदैछ ,कार्यव्यस्तताले आउन ढिला भयो भने भोलि नै सफ्टवेर जडान सुरु हुन्न । कार्यालयले शनिबारसम्म जडान सम्पन्न गर्ने तयारी गरेको छ ।”

पौडेलका अनुसार अहिले कार्यालयमा उपलब्ध कर्मचारीबाट नै नविकरणको काम सुरु हुनेछ । लाइसेन्स नविकरणका लागि  कम्तीमा ६ जना कर्मचारी आवश्यक पर्ने उनले बताए । तर अहिले कार्यालयले यसका लागि चार जना मात्रै कर्मचारीको व्यवस्थापन गर्न सक्ने अवस्था छ ।

मोटरसाइकल नविकरण र बिलिङबाट दुई जना तथा दर्ताबाट एक जना कर्मचारी व्यवस्थापन गरेर लाइसेन्स नविकरणमा खटाईने उनले बताए । लाइसेन्स नविकरणकै लागि हालै मात्र दरबन्दीमा एक जना कम्प्युटर अपरेटर आएका छन् । अहिले चार जनाले नै काम सुरु गर्ने उनको भनाई छ । थप कर्मचारीका लागि मन्त्रालयमा प्रस्ताव गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आवश्यक परे एक जनालाई दोहोरो जिम्मेवारी दिएरै भए पनि काम सुरु गरिनेछ । “अहिलेले हामी आँफै कर्मचारी व्यवस्थापन गर्छौं । न्युनतम ६ जना चाहिन्छ । मोटरसाइकल नविकरण तथा दर्ताबाट कर्मचारी तानेरै भए पनि काम सुरु गर्छौं । आवश्यक परे एक जनालाई दोहोरो जिम्मेवारी दिएरै भए पनि गर्छौं, उनले भने, थप कर्मचारीका लागि मन्त्रालयमा प्रस्ताव गरेका छौं । उताको कर्मचारी यता गर्दा अरु काम प्रभावित हुने हो कि भन्ने डर चाँही छ । त्यस्तो भयो भने त्यही अनुसार मन्त्रालयमा पहल गर्छौं ।”

नविकरण सुरु भएपछि  सेवाग्राहीलाई सहज हुने उनले बताए । लाइसेन्स नविकरणका लागि वीरगन्ज, काठमाडौं, बुटवल जानु पर्ने सेवाग्राहीको बाध्यता अन्त्य हुने र आर्थिक भार पनि कम हुने भनाई छ । लाइसेन्स नविकरण सुरु भएपछि कार्यालयमा हुने भिडभाडलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा पनि छलफल भइरहेको उनले बताए ।

नयाँ लाइन्सेन्सका लागि भने अझै केही समय लाग्नेछ । नयाँ लाइसेन्स जारी गर्नका लागि प्राविधिकसँगै भौतिक संरचना निर्माणका काम पनि गर्नु पर्ने भएकोले समय लाग्ने कार्यालय प्रमुख पौडेलले बताए ।

नयाँ लाइन्सेसको परीक्षाका लागि आवश्यक ट्रायल स्पटका लागि उपयुक्त स्थान खोजेर भौतिक पूर्वाधार निर्माण गर्न केही समय लाग्ने उनको भनाई छ । सबै सवारी साधनको ट्रायल लिनका लागि खुला र ठुलो क्षेत्र चाहिने भएकोले खोज्ने प्रयास भइरहेको उनले बताए ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भदौ ३ गते यातायात कार्यालय चितवनलाई लाइसेन्स सम्बन्धि सम्पूर्ण काम गर्ने अधिकार दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय सँगै कार्यालयले सफ्टवेर जडानका लागि संघीय सरकार अन्तर्गतको यातायात व्यवस्था बिभागलाई पत्रचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस