काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १८ : १२
काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो


काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।

मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ।
केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस