भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु

रासस

सोमबार, २९ कार्तिक २०७८, १४ : ५९
भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु

चितवन । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो ।

चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन । निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ । सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उहाँले जानकारी दिए । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए ।

रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो । रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए । एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ । भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ ।

भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा।डा। कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत छन् ।अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्ने छ । सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ । मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उनले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरे ।