चितवनमा १४ प्रतिशत मधुमेहका बिरामी, नेपालमा दैनिक २८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १४ : ०८
चितवनमा १४ प्रतिशत मधुमेहका बिरामी, नेपालमा दैनिक २८ जनाको मृत्यु

चितवन । नेपालमा मधुमेहबाट सरदर दैनिक २८ जनाको मृत्यु भएको पाईएको छ । मधुमेह समाज चितवन र मधुमेह स्वयंसेवक समाज चितवनले आज भरतपुर अस्पतालमा संयुक्त रुपमा आयोजना गरेको मधुमेह सम्बन्धी सचतेना कार्यक्रममा चिकित्सकहरुले उक्त तथ्यांक रहेको जानकारी गराएका हुन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नेपालमा बर्षेनी १० हजार जना मधुमेहको कारण ज्यान गुमाउनु परेको बताए । ‘विश्वको ७ अर्ब जनसंख्यामा ४५ करोड मधुमेहका विरामी छन् । थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहानै छैन , अधिकारीले भने , नेपालमा ७ जनामा एकजनामा मधुमेहका रोगी छन ।’ विश्वमा दक्षिण एशियामा मधुमेहका विरामी संख्या र जोखिम बढी रहेको उनले बताए । ‘चाइनामा ११ करोडमा , भारतमा ७ करोड जनसंख्यामा मधुमेह छ, नेपाल पनि मधुमेहको उच्च जोखिममा छ ।’ उनले भने ।नेपालमा ३० देखि ७० बर्ष उमेरसमुहमा ३० प्रतिशतले मधुमेह रोगको दर बढ्दै गएको उनले बताए ।

नेपालमा औसत ८ दशमलब ४ प्रतिशत मधुमेहका विरामी भएपनि चितवनमा यसको दर १४ प्रतिशत रहेको पाईएको छ । भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टको समन्वयमा एनपीएएल समाज सहितको टिमले भरतपुर महानगरको वडा नम्बर ९ मा रहेका पाँच हजार ४५ जना जनसंख्यामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत मधुमेहका विरामी भेटिएका हुन् । ‘हामीले न शहर न गाउंँजस्तो वडा छनौट गरी सर्वेक्षण गर्दा १४ प्रतिशतमा मधुमेह, २१ प्रतिशत उच्च रक्तचाप , सामान्य मोटोपन २३ प्रतिशत र उच्च मोटोपन ३७ प्रतिशत भएको पाईयो ।’ भट्टले भने ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर प्रकाश खतिवडाले चितवन बसाईसराइको हब भएकोले मधुमेहका विरामी पनि अन्य जिल्ला भन्दा बढी भएको बताए । ‘समाज, समुदाय घुलमिल भयो । गाउंँ र गाउंँबाट आउने मानिसहरुको पनि विलासी जीवनशैली देखियो ।’ उनले भने । एशियामा मधुमेहको राजधानी भारत भएको र यसको सिधा असर नेपालमा परेको खतिवडाले बताए । उनका अनुसार इन्सुलिनको सहज पहुंँच विरामी नपुगेको कारण मधुमेहका विरामीको दर बढ्दै गएको हो ।

अस्पतालका मेडिकल सुपरीटेण्टेण्ड प्रा डा कृष्ण पौडेलले अस्पतालमा मेडिकल विभागमा आउने सुगर र बिरामीको संख्या ५० प्रतिशतको हाराहारीमा हुंँदा औषधिको अभाव हुने गरेको बताए । ‘विमाका विरामी र अन्य विरामीको लागि सुगरको औषधिको माग बढी छ , उनले भने, टेण्डर प्रक्रियाबाट औषधी ल्याउनुपर्ने, अस्पतालले आफै सिधै गर्न नमिल्ने भएकोले समस्या भएको हो ।’ यसको न्यूनीकरणको लागि उपचारको प्रभावकारिता संँगै सचेतनामा बढी जोड दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा २४ बर्षदेखि मधुमेह प्रभावित सोमनाथ अर्यालले मधुमेहको असर बढ्न नदिन दैनिक रुपमा सादा खानपान खानुपर्ने, आधुनिक जीवनशैली त्याग्नुपर्ने , तनाव लिन नहुने , शारिरीक व्यायम र अध्यात्मिक चेतना भए कम हुने अनुभव सुनाएका थिए । कार्यक्रम मधुमेह समाज चितवनका अध्यक्ष यम प्रसाद शर्माको सभापत्विमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस