सर्लाही । निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।
केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रवार बिहान राजीनामा दिएर काठमाडौं फर्किएका हुन् ।
कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको विवाद र दबाबका कारण निर्वाचन अधिकृत पदबाट राजीनामा दिएको कार्कीले संकेत गरेका छन् । आसन्न निर्वाचनमा जिल्ला सभापतिको दावेदार उनीहरूबीच पालिका तथा वडास्तरमा पनि उत्तिकै प्रतिस्पर्धा हुने देखिएको छ ।
हालका जिल्ला सभापति नागेन्द्रकुमार राय कांग्रेस केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । जिल्लामा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा समेत विवाद थियो ।
जिल्ला सभापति नागेन्द्रकुमारको दबाब खेप्न नसकेर निर्वाचन अधिकृतले राजिनामा बुझाएको लक्ष्मण रायको भनाइ छ । ‘जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न दिएनन् ।’ उनले भने, ‘सबै कुरा मैले भनेको मात्र गर, नत्र जाउँ भनेकाले उहाँ जानुभएको छ । यसको जिम्मा सबै सभापतिज्यूले लिनुपर्छ ।’ जिल्ला सभापति रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षकोे कारण निर्वाचन अधिकृत काम गर्न नसकेर राजीनामा दिएर गएका दावी गरेका छन् ।
यता, निर्वाचन अधिकृतबाट राजीनामा दिएका कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर राजीनामा दिएको बताएका छन् । उनले संचारकर्मीहरूसँग एक पक्षले एक थरी र अर्को पक्षले अर्कै थरी कुरा गर्दा निर्वाचन गराउन सक्ने अवस्था नदेखिएकोले राजीननामा दिनुपरेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिको सर्वसम्मत निर्णयमाथि जालझेल: दिलेन्द्रप्रसाद बडू
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ: काँग्रेस
कांग्रेस पदाधिकारी बैठक बस्दै