काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् ।
आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।
यसअघि बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् ।
खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
यसअघि गत आइतबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबा अरबाइन’, सोमबार पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ र हिजो मङ्गलबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । सङ्घीय राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ पूजा गरिन थालिएको छ ।
केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख नै राजधानीको रानीपोखरीसहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्वमात्र नभएर अन्य धेरै चाडवाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ कार्तिक २०७८, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन
छठ पर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास
आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै
छठ पर्वको दोस्रो दिन, आज खरना
छठका लागि जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात